१२ माघ, भोजपुर ।
मुख्यमन्त्री शेरधन राईको जन्मस्थल भोजपुरबाट प्रदेश १ सरकारले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम सुरुवात गरेको छ । दाँत नभएका ज्येष्ठ नागरिकलाई प्रदेश सरकारले भोजपुरको आमचोक गाउँपालिकाबाट दन्त उपहार कार्यक्रम सुरुवात गरेको हो ।
बृद्धबृद्धा अवस्था पुगेर दाँत झरिसकेपछि दैनिक जीवनमा हुने कठिनाईबाट जोगाउन सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रमको अवधारणा अगाडी सारेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जन्म स्थान आमचोकमा शुक्रबार ज्येष्ठ नागरिकलाई दाँत उपहार दिएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।
मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र आमचोक गाँउपालिकाका अध्यक्ष अशोक राईले तीनजना ज्येष्ठ नागरिकलाई दाँत लगाई दिएका थिए । कार्यक्रममा मुख्यमन्त्री राईले ७२ वर्षिय दुर्गाबहादुर राना मगरलाई, मन्त्री घिमिरेले मदन राईलाई र अध्यक्ष राईले दक्षीमाया राईलाई उपहारस्वरुप दाँत लगाई दिएका हुन् । ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत सुरु गरिएको दन्त उपहार कार्यक्रम आमचोकमा तीनदिनसम्म सञ्चालन हुने अध्यक्ष राईले बताए । गाउँपालिकाका सबै ज्येष्ठ नागरिकको दाँत परीक्षण तथा आवश्यकता अनुसार दाँत लगाउने योजना राखिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले नागरिकको चाहना अनुसारको सरकारले योजना अगाडि सार्ने बताए । उनले प्रदेश सरकारले पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कामहरु समेत सँगसँगै अगाडी बढाउने बताए । यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक, मानसिक समस्यामा परेका नागरिकको संरक्षण सरकारले गर्ने गरि कार्यक्रमहरु अगाडि बढाएको बताए । ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने योजनालाई प्रदेशका सबै स्थानीय तहमा विस्तार गरिने उनले बताए ।
चालु आर्थिक वर्षमा प्रदेशका ३० स्थानीय तहका ज्येष्ठ नागरिकलाई दाँत लगाउने योजना छ ।