आँखामा खुर्सानीको धुलो छर्की लुटपाट गर्ने गिरोह पक्राउ

आँखामा खुर्सानीको धुलो छर्की लुटपाट गर्ने गिरोह पक्राउ

१२ माघ, काठमाडौं ।

विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुनर र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको पुरन्धारा ९ का स्थानीय बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर ७ का नकुर तामाङ र रसुवाको आमाछोदिङ ५ का दावा छिरिङ तामाङ रहेका छन् । त्यसैगरी रामेछापको मन्थली ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगयाका २ का तेन्जिङबहादुर तामाङ र सोही ठाउँका संजित वाईवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरिय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहका अनुसार उनीहरुले पीडितलाई धारिलो हतियार खुकुरी देखाएर आँखामा खुर्सानीको धुलो छर्की लुटपाटमा गर्ने गरेका थिए । सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं वडा नम्बर १५ भगवानगाउँ बस्ने बच्चुराम गुरुङलाई बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले बल्ने ढुङा छ भनि ५० लाख लुटेका थिए ।

लुटपाटपछि प्रहरीले घर्तीमगरसँगै उनको समूहमा रहेका अन्यको खोजी सुरु गरेको थियो । उनीहरुको साथबाट डकैती गरेको रकम मध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको १ थान मोटरसाइकल, घटनामा संलग्न भएको ३ थान मोटरसाइकल विभिन्न कम्पनीका मोबाइल र एक थान सुनको औठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.