चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको परिवारलाई राहत रकम

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको परिवारलाई राहत रकम

१४ माघ, तनहुँ ।
चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे । मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराइनेछ । गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो । आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो ।

घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो । चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेको छ ।

यसअघि मृत्यु भएका सबै बालबालिकाका परिवारलाई राहत रकम प्रदान गरिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.