१४ माघ, विराटनगर ।
बाह्य व्यक्तिसँगको शारिरिक सम्बन्धको विषयलाई लिएर मिलेमतोमा श्रीमानको हत्या गर्ने श्रीमतीसहित हत्यामा संलग्न अन्य चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । मोरङको कटहरी–७ का विकास सरदारको हत्यामा संलग्न भएको आरोपमा श्रीमती दयावती सरदार, कटहरी –७ बस्ने ३६ वर्षीय बोस भन्ने बद्री सरदार, ४५ वर्षीय मुकेश सरदार र ३६ वर्षीय ललन सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हत्यामा प्रयोग भएको फलामको डन्डा पनि प्रहरीले बरामद् गरेको छ ।
गत माघ ६ गते विहान कटहरी– ७ बस्ने ४५ वर्षीय विकास सरदारको ग्रामथान गाउँपालिका – ३ स्थित ढङटोली स्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा शव फेला परेको थियो । घटनापछि अनुसन्धानको क्रममा विकासको टाउकोमा गहिरो चोट लागेका कारण सरदार पानीमा डुबेर मृत्यु भएको नभई हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार माघ ५ गते राति ८ बजेको समयमा विकास सरदारको घरमा बद्री सरदार, ललन सरदार र मुकेश सरदारले रक्सी खाई गाउँमा तास खेल्न जाउँ भनि लगेर कोही नभएको मौका पारी टाउकोमा फलामको डन्डाले हानेका थिए । उनीहरुले त्यसपछि घाँटी थिचेर हत्या गरी नजिकै रहेको पानीमा फालेका थिए । श्रीमती दयादेवी सरदार र बोस भन्ने बद्री सरदारकोवीच शारीरिक सम्बन्ध रहेको र सोही सम्बन्धको बिषयलाई लिएर उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
दयादेवी एक्लै भएको अवस्थामा बद्री सरदार आउन,े रात विताउने र शारिरीक सम्बन्ध समेत राख्ने गाउँमा थाहा भएको थियो । श्रीमान विकासले पनि थाहा पाएपछि ७ दिनअघि नै बद्रीसँग मिलेर श्रीमतीले विकासको हत्याको योजना बनाएको खुलेको छ । खोजतलास गर्ने क्रममा बद्रीलाई माघ ११ गते घरबाटै प्रहरीले पक्राउ गरेको थियो । उनले मिलेर हत्या गरेको स्वीकारेपछि प्रहरीले संलग्न अन्य व्यक्तिहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले .जनाएको छ ।