सरकार विरुद्धको प्रचार आक्रमण डरलाग्दो गरि छेडिएको छ : प्रधानमन्त्री

सरकार विरुद्धको प्रचार आक्रमण डरलाग्दो गरि छेडिएको छ : प्रधानमन्त्री

१५ माघ, काठमाडौँ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन् । बुधबार काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सरकार विरुद्ध प्रचार युद्ध मात्रै नभई आक्रमण नै डरलाग्दो गरि छेडिएको गुनासो गरे । उनले सरकार विरुद्धको आक्रमणको वादविवाद नगरि काम गरेर जवाफ दिने पनि बताए । उनले भने “हाम्रा विरुद्ध प्रचारयुद्ध, प्रचारयुद्ध मात्रै नभनुँ प्रचारआक्रमण डरलाग्दो गरि छेडिएको छ । तर हामी वाद विवादबाट होइन । हामी हाम्रा उपलब्धिबाट, नतिजाबाट जवाफ दिदै आएका छौ ।”

लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिएका प्रधानमन्त्री ओलीले बैचारिक आग्रह पुर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गरे । उनले भने“लोकतन्त्रप्रति हाम्रो निष्ठाको सवालमा प्रश्न उठाउने गरिएको छ । हाम्रो पार्टीको नामको कारणले कतिमा बैचारिक पुर्वाग्रह पनि हुन सक्छ । त्यो पनि होला । तर हामी पुर्वाग्रहभन्दा माथि उठेर २१ औ शताब्दीमा मानवजातीले प्राप्त गरेको उपलब्धि, मुल्यमान्यताको कसिमा आफुलाई प्रस्तुत गर्न चाहन्छौ ।”

उनले लोकतन्त्रलाई पुर्ण डेमोक्रेशीको रुपमा अगाडि बढाउदै न्याय र हकअधिकारसम्मको पहुँच सबैका लागि सुरक्षित गर्दै शान्तिपुर्ण, आधुनिक र सम्मानयुक्त समाज निर्माणमा सरकार अघि बढेको स्पष्ट पारे । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता लगायत विषयमा सरकार विरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको पनि दाबी गरे । उनले भने “हाम्रा बारेमा प्रेस स्वतन्त्रता वा स्वतन्त्रताका हकका बारेमा प्रश्न उठ्नु वास्तवमा निर्रथक कुरा हो । ”

नेपाली कांग्रेस, नेकपा तथा विभिन्न समुहले विभिन्न विषय र सन्र्दभमा समय समयमा हतियार उठाएको भएपनि नेपालको राजनीति अन्तत्वगत्वा शान्तिपुर्ण बाटोमा आएको र आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा अघि बढेको उनले दाबी गरे । अन्तराष्ट्रिय मुल्य मान्यता र राजनीतिक प्रणालीका लोकतान्त्रिक विशेषतालाई जनताको जनवाद भनेर नामाकरण गरिएको भन्दै उनले सार्वभौमसत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकिकरणको व्यवस्था अनुरुप जाने ढंगले अगाडि बढेको पनि स्पष्ट पारे ।

कोही पनि भोकै नपरोस् भन्ने तर्फ सरकार सजग र सर्तक भएको भन्दै उनले सोही अभियान अनुसार काठमाण्डौका सडक मानवरहित भएको बताए । उनले भने “सडक मानव हुन दिएका छैनौ । सडक बालबालिकाको अन्त्य गरेका छौ । सडक मानव अन्त्य गरेका छौ र कोही पनि भोकै मर्ने स्थितिको अन्त्य गरेका छौ । सम्मृद्धि हासिल गर्ने बाटोमा, विकासको बाटोमा , शुसासन कायम गर्ने बाटोमा, भ्रष्टाचार रोक्ने बाटोमा र भ्रष्टाचार नियन्त्रण गर्ने बाटोमा हामी छौ । सम्पुर्ण पुर्वाधारको आधार तयार भईसक्यो भन्ने होइन । ”

नेपाल भ्रमण बर्ष २०२० लाई कोरोना भाईरसको संक्रमणले केही प्रभावित पार्ने देखिएको उल्लेख गर्दे सरकारले आवश्यक सावधानी अपनाउने स्पष्ट पारे । उनले भने “हिजो संसदमा मैले सन् २०२० मा नेपाल भ्रमण बर्षको सुरुवातमा कोरोना भाईरसतिर संकेत गर्दै यो प्रयासमा धक्का पर्न जाने जस्तो देखियो भनेर भनेको थियो त्यो कसले कसरी बुझ्यो । ”

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीपछि बोलेका विपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कस्तो धक्का के को धक्का भनी प्रश्न गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.