वैदेशिक रोजगारीबाट फर्कनेहरुको पनि तथ्यांक राख्न थालियो, गैरकानुनी रुपले बसेकाहरुको विवरण थाहा हुने

वैदेशिक रोजगारीबाट फर्कनेहरुको पनि तथ्यांक राख्न थालियो, गैरकानुनी रुपले बसेकाहरुको विवरण थाहा हुने

१७ माघ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्कनेहरुको पनि तथ्यांक राख्न थालेको छ ।

अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा अब विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए ।

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिने श्रमिकको तथ्यांकअनुसार दैनिक एक हजारभन्दा धेरै युवा विदेशिने गरेका छन् । अध्यागमन विभागले पनि छुट्टै तथ्यांक राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्यांक थिएन । तर अब दुवै विभागको तथ्यांक एक आपसमा गाभिएकाले वैदेशिक रोजगारीमा जाने र फर्किनेको यकिन तथ्यांक हुने महानिर्देशक भूसाल बताए ।

वैदेशिक रोजगारीमा जाने र फर्किनेको तथ्यांक राख्न सुरु भएसँगै सरकारसँग अब विदेशमा गैरकानुनी हिसाबले बस्ने कति नेपाली छन् भन्ने तथ्यांक पनि हुनेछ । अहिले अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका कति फर्किए भन्ने तथ्यांक नहुँदा कति गैरकानुनी रुपले बसेका छन् भन्ने पनि थाहा छैन ।

तर अब श्रम अवधिमा नफर्किएका र विदेशस्थित नेपाली नियोगबाटै पुनः श्रम स्वीकृति पनि नलिएका श्रमिकहरु कति छन् भन्ने जानकारी यो प्रणालीले राख्नेछ ।

अध्यागमनको सूचना व्यवस्थापन प्रणालीमा आवद्ध भएपछि विभागले जुनसुकै भिसामार्फत विदेश जाने नेपालीको पनि तथ्यांक लिन सक्छ । त्यसैले श्रमिकको विवरण अब अनलाइन प्रणालीमा नै हुँदा समस्या पर्दा र सम्पर्क्विहीन हुँदा खोजीका लागि पनि सहयोग पुग्ने विभागको विश्वास छ ।

कानुनी रुपमा रोजगारीका लागि भारतबाहेकका अरु देश श्रम स्वीकृति लिएर जाने श्रमिकको तथ्याँक राख्ने काम २०५७ सालदेखि नै सुरु भएको हो । तर, विदेशबाट फर्किनेको भने विवरण राखिएको थिएन ।

विभागका अनुसार सन् २००० को अप्रिल २९ देखि अहिलेसम्म झण्डै ६३ लाख जनाको श्रम स्वीकृति जारी भएको छ । तर यी सबै विदेश गएका र विदेशमै छन् भन्ने होइन । अहिले झण्डै ४३ लाख नेपाली वैदेशिक रोजगारीमा छन् भन्ने अनुमान छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.