समसामयिक विषयमा राष्ट्रियसभाका सांसद्ले उठाए क्षेत्रगत समस्या

समसामयिक विषयमा राष्ट्रियसभाका सांसद्ले उठाए क्षेत्रगत समस्या

१९ माघ, काठमाडौँ ।
राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आईतबारको बैठकमा विशेष समयमा बोल्दै व्रिखेष चन्द्र लालले नेपाल र चीन सरकारबीच भएको सिमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौताबारे सरकारको धारणा माग गरेका छन । पिजन होलमा परराष्ट्रमन्त्रालयबाट परराष्ट्रमन्त्रीको हस्ताक्षर सहित जानकारीको लागि पेस गरिएको भनिदै नेपाल र चीन सरकारबीच सम्पन्न भएको सिमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौता राखिएको उल्लेख गर्दे उनले कुनै पनि सिमा सम्बन्धी सम्झौता सदनलाई जानकारी दिएर मात्रै नपुग्ने तर्क गरे । ‘सन्धि ऐन २०४७ को दफा १० अनुसार यसलाई जानकारीका लागि संसदमा पेश गरिएको भनिएको’ उल्लेख गर्दे उनले त्यसबारे सरकारको धारणा माग गरे । नेपाल सरकारको असोज १७ गतेको निर्णय अनुसार असोज २६ मा नेपाल र चीन सरकारबीच सिमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

यस्तै राधेश्याम अधिकारीले दरबन्दी अनुसारको शिक्षक अभावका कारण सामुदायिक विद्यालय शिक्षाको गुणस्तर अन्त्यन्तै न्यून रहेको भन्दै त्यस तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । राज्यका निर्देशक सिद्धान्त तथा दायित्व समिति अन्र्तगतको अनुगमन समितिले रौतहट जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन गर्दा देखिएका विषयबारे सदनलाई जानकारी गराउदै उहाँले शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए । वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिमा बस्ने र व्यवस्थापन समितिको सदस्य बन्नकै लागी गोली समेत चल्ने अवस्थाले त्यसभित्रको राजनीति स्पष्ट भएको भन्दै शिक्षालाई राजनीति मुक्त गर्न आवश्यक रहेको बताए । उनले रौतहटका मदरसाको शिक्षा नेपाल सरकारको औपचारिक शिक्षा पद्धतिबाट बाहिर रहेको, एउटा माध्यमिक शिक्षकले सिंगो माध्यमिक विद्यालय संञ्चालन गर्ने गरेको र आवश्यक शिक्षक नहुँदा दैनिक ७ पिरियड हुनुपर्नेमा ४ पिरियड मात्रै कक्षा संञ्चालन हुने गरेको भन्दै शिक्षा क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न माग गरे । उनले छात्राहरुले सरकारले वितरण गर्ने भनेको सेनेटेरी प्याड पाएको, पुुस्तक सबैमा पुगेको, विद्यालयको पुर्वाधारमा सुधार आएको, दिवा खाजाको व्यवस्थाले विपन्न विद्यार्थीलाई राहत पुगेको बताए । शिक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा पनि चिकित्सकको आवश्यक दरबन्दी नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित भएको भन्दै आधारभूत शिक्षा र स्वास्थ्य सेवालाई माथि उकास्ने हो भने दुवै क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

सांसद बिमला राई पौडेलले काठमाण्डौका फिटनेस सेन्टरहरुको गुणस्तर मापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । गत माघ १५ गते ललितपुरको सातदोबाटो बिशाल चोकमा फिट एण्ड फाईन एरोविक्स फिटनेस सेन्टरमा साउना लिन गएका हस्त गुर्जवा पुन मगर र नेत्र कुमारी मगर दम्पतिको मृत्यु भएको भन्दै च्याउ उम्रे जसरी खुलेका फिटनेस सेन्टरको तुरुन्तै अनुगमन गरि मापदण्ड अनुसार सम्बन्धीत निकायप्रति जिम्मेबार बनाउनुपर्नेमा उनले जोड दिइन् ।

मिना बुढाले रोल्पाको थवाङ गाउपालिका वडा नम्बर ३ स्थित हिमाल्य फुलबारी विद्यालयमा अंग्रेजी विषय अध्ययन गराउने शिक्षक कास्कीमा नाम निकालेर गएपछि अंग्रेजी विषयका शिक्षक रिक्त रहेको भन्दै त्यसतर्फ शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् । नया शिक्षक करारमा राख्नका लागि पनि विभिन्न किसिमका झन्झटिलो प्रावधान रहेको भन्दै विद्यालय व्यवस्थापन समितिले करारमा शिक्षक राख्न सक्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।

प्रमिला कुमारी ले नागरिकता विधेयक पास गर्न ढिलासुस्ती हुँदा लाखौ जनता गैह् नागरिक भएको भन्दै नागरिकता विधेयकलाई छिटो टुंगोमा पुर्याउन आग्रह गरिन् । उनले तात्कालिन संघीय समाजवादी फोरम र नेकपाबीच भएको सम्झौता कार्यान्वनय नभएका कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दे माग पूरा गराउन सदन र सडकबाट संघर्ष गर्ने चेतावनी दिइन् ।

शेरबहादुर कुँवरले छाउ गोठ भत्काउने अभियान संगै सामाजिक चेतनाको अभियान संञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सामाजिक र आर्थिक रुपान्तरण अनुसार संघीय सरकार र स्थानीय सरकारको सक्रियतामा अछाम, डोटी, बाजुरा, दैलेख र सुर्खेतमा छाउगोठ भत्काउने अभियान चलाउनु राम्रो काम भएको उल्लेख गर्दे उनले सो कार्यको निरन्तरता संगै ती स्थानमा विद्यमान रहेका धार्मिक,सांस्कृतिक मुल्य र मान्यताबारे चेतनामुलक कार्यक्रम संञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । उनका अनुसार अछाम जिल्लामा अहिले सम्म ५ हजार गोठ भत्काउने काम भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा नै सांसद गजेन्द्र महतले छाउगोठका नाममा आफुहरुको घर भत्काएको भन्दै गृहमन्त्रालयको छाउगोठ भत्काउने कार्यको चर्को विरोध गरेका थिए ।चक्रप्रसाद स्नेहीले डडेलधुरा आलटाल गाउपालिकाका नेकपाका गाउपार्टी कमिटी अध्यक्ष ज्ञानेन्द्र प्रसाद जोशीलाई शुक्रबार मुकुण्डोधारी समुहले अपहरण गरी मरणासन्न हुने गरि कुटपीट गरेको र जोशीको काठमाण्डौस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना सम्बन्धीत उपचारको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । दोषीमाथि कारवाहीको साथै दिनदहाडै मान्छे कुट्ने परिस्थितिको अन्त्य गर्न उहाँले सरकारको ध्यानाकर्षण पनि गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.