१९ माघ, काठमाडौँ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गदैं नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । माघ १५ देखि १९ गते सम्म काठमाडौंमा बसेको बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पनि पारित गरेको छ ।
संशोधित विधानमा पार्टीको उपाध्यक्ष रहने र त्यसअनुसार पार्टी स्थायी कमिटी सदस्य बामदेव गौतम उपाध्यक्षमा चयन भए। त्यस्तै समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्तावहरु पारित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा सबै पक्षहरुको वस्तुसम्मत अध्ययन गरी निर्णय लिन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ३ सदस्य अध्ययन कार्यदल गठन गरेको समेत बताए । जसमा स्थायी कमिटी सदस्यहरु भिमवहादुर रावल र प्रदिप ज्ञवाली सदस्य रहेका छन् ।
उक्त कार्यदलले १०दिन भित्रमा अध्ययन गरी सचिवालयमा सुझाव पेश गर्ने र सोही सुझवका आधारमा पार्टीले निर्णय गर्ने भएको छ । प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित नेपालको वास्तविक भूभाग सबै समेटिएको नक्सा प्रकाशित गर्न सरकारलाई अनुरोधन गर्ने निर्णय गरेको समेत बताए । त्यस्तै बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ चैत २५ देखि ३० गते सम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै जिल्ला अधिवेशन र प्रादेशिक अधिवेशन समेत आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै तीन महिने संगठनात्मक विस्तार तथा जनपरिचालनको विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै संघीय सांसदहरुको लेबीहरुमा एकरुपता कायम गर्ने निर्णय समेत बैठकले गरेको छ । सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चिततालाई कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले नोभल कोरोना भाइरसको संक्रमणका विषयमा सचेत रहने निर्णय समेत गरेको छ ।