१९ माघ, विराटनगर ।
भोलि अर्थात फेब्रुअरी ३ बाट प्रदेश १ को राजधानी विराटनगरबाट गण्डकी प्रदेशको राजधानी पोखरा सिधा उडान सुरु हुने भएको छ । बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका क्रममा विराटनगर–पोखरा सिधा उडान गर्ने भएको हो ।
साताको तीन दिन विराटनगर–पोखरा सिधा उडान हुने बुद्ध एयरले जनाएको छ । सोमबारदेखि बुद्ध एयरले बीच १९०० डी को १८ सिटे जहाजले सोमबार, बुधबार र शुक्रबार सिधा उडान गर्ने बुद्ध एयर विराटनगरका प्रबन्धक भक्तबहादुर बस्नेतले जानकारी दिए । उनले यात्रुको चाप बढ्दै गए ठूला जहाजले उडान भर्ने बताए ।
विराटनगर– पोखरा उडान समय ६० मिनेटको हुने जनाइएको छ। दिउँसो १ः१० बजे विराटनगरबाट उड्ने जहाज २ः१० मा पोखरामा अवतरण गर्नेछ । प्रबन्धक बस्नेतका अनुसार हाललाई विराटनगर–पोखरा भाडादर ६ हजार २ सय रुपैँया कायम गरिएको छ । परीक्षण अवधि भएकोले सुरुमा ६ हजार २ सय रुपैँया कायम गरिएपनि पछि घटबढ हुने बुद्ध एयरले जनाएको छ ।
यसअघि विराटनगर र भद्रपुरबाट पोखरा उडानका लागि पहल गर्दै आएको प्रदेश १ सरकारले बुद्ध एयरलाई उडान भर्न आग्रह गरेको थियो । भ्रमण वर्षको प्रारम्भमै सुरु हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने विश्वास लिईएको छ ।