सांसद रेशम चौधरीलगाएत ११ जना बन्दीहरूलाई तत्काल छाड्न थरुहटको माग

सांसद रेशम चौधरीलगाएत ११ जना बन्दीहरूलाई तत्काल छाड्न थरुहटको माग

२१ माघ, धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले कैलाली घटनाका मुख्य दोषी मानिएका सांसद रेशम चौधरी लगाएत ११ जना बन्दीहरूलाई तत्काल छोड्न माग गरेका छन्।

मंगलबार दाङको तुलसीपुरमा पत्रकार सम्मेलनमा उनले माघ अन्तिमसम्म सांसद चौधरीसहित ११ जना राजबन्दीहरूलाई रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिए । सांसद चौधरीको रिहाइलगायत १४ बुँदे माग प्रधानमन्त्री केपी ओलीलाई बुझाइ सकेर अल्टिमेटम समेत दिइसकेको उनले बताएका छन् ।

पहिचान पक्षधर थरुहट, लिम्बूवान, खम्वुवान, मगरात, तामाङसालिन, नेवा, मधेसी, दलित र खसान समेतको संयुक्त पहलमा कैलालीको धनगढीबाट आफैंले आमरण अनसनको सुरूआत गर्ने थारुले बताए ।

आमरण अनसन जेलमा बन्दी बनाइएका परिवारहरूको सहभागितामा सामूहिक हुने उनले जानकारी दिए । सामूहिक अनसन काठमाडौंको माइतीघरमा पनि गरिने थारुले बताए । त्यस्तै, फागुन २ गते धनगढीमा जनप्रदर्शन गर्ने र त्यतिगर्दा पनि आफूहरूको माग सम्बोधन नभए तीन दिने बन्द, आमहडताल गर्ने संयोजक थारुले बताए।

प्रधानमन्त्री ओलीको कटुआलोचना गरेका संयोजक थारुले सत्ताकै निरुङकुशताका कारण आफूहरू आन्दोलनमा जान बाध्य भएको जिकिर गरे। तर उनले आफूहरू शान्ति खलबल्याउने, सद्भाव बिगार्ने पक्षमा आफूहरू पहिले पनि नरहेको र अहिले पनि नरहेको भने स्पष्ट पारे।

संयोजक थारुले पहिचान पक्षधर थारु समुदायले न्याय नपाएको गुनासो गरे। एउटै कानुनले माननीय चौधरीलाई चुनावमा जान दिने र त्यही कानुनले जनताको मतले निर्वा्चित भएपछि जेल हाल्ने नमिल्ने उनले जिकिर गरे।

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही समय पहिला मात्रै जसरी पनि रेशम चौधरीलाई रिहा गरिने बताएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.