२२ माघ, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गरेका छन् । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सेवाको पहुँचको विस्तार पछी आउने चुनौति र गुणस्तरमा सुधार गर्दै आगाडि बढ्न सुझाव दिएका हुन् ।
उनले छोटो समयमा टेलिकमले उल्लेख्य प्रगति गरेको बताए । उनले भने ‘पहुँचको विस्तार पछि आउने चुनौति त्यो चुनौति के हो भने अव गुणस्तरमा सुधार, गुणस्तरको सुधार अवको हाम्रो योजना हुनुपर्छ सेवा मात्रै विस्तारित भएर भूभाग मात्रै कब्जा गरेर हुँदैन तयसतर्फ पाइला चाल्न सक्नुपर्छ ।’
उनले पछिल्लो एक वर्षमा कम्पनीले बहुप्रतिक्षित फोरजी सेवा परियोजना देशैभरी पु¥याउन सफल भएको समेत बताए । उनले प्रदेश ५ र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम पनि छिट्टै गर्ने बताए ।
मन्त्री बाँस्कोटाले टेलिकममा कार्यरत केही कर्मचारीहरु आन्दोलन गरिरहेको उल्लेख गर्दै जायज माग भए सम्बोधन गरिने तर राजनीति गर्नेलाई ठेगान लगाइने बताए । ‘राजनीति गर्नेभए पार्टी कार्यालय जानुस्’ उनले भने । उनले राजनीतिका लागि राजनीति नगर्न र संस्थाको लागि काम गर्न आग्रह समेत गरे । उनले कर्मचारीको आन्दोलनका कारण गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसनको जस्तो अवस्थामा टेलिकमलाई पु¥याउने खेल भइरहेको समेत बताए ।
टेलिकमले वार्षिकोत्सव मनाइरहँदा आधिकारिक ट्रेड युनियनका असन्तुष्ट कर्मचारीहरु टेलिकमको शेयर कर्मचारीले पाउनुपर्ने, करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने लगायतका विषयमा माग राख्दै आन्दोलन गरेपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाएका हुन् ।