२३ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि ११औँ चरणका खेलहरु सुरु हुँदैछ ।
बिहीबार हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्दैछन् । यी दुवै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुँदैछ ।
बिहीबारको खेल चार वटै क्लबका लागि निकै महत्वपूर्ण छ । मच्छिन्द्र सरस्वतीलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । मच्छिन्द्रलाई हराएमा सरस्वतीको रेलिगेशनबाट जोगिने आश कायमै रहनेछ ।सरस्वतीले अङ्क खोस्न सफल भएमा मच्छिन्द्रको लिग जित्ने अभियानमा धक्का लाग्नेछ ।
मच्छिन्द्र २२ अङ्क बनाउँदै लिगको दोस्रो स्थानमा छ । चार अङ्कसहित लिगको पुछारमा रहेको सरस्वतीलाई रेलिगेशनबाट जोगिनका लागि मच्छिन्द्रलाई टक्कर दिनु जरुरी छ ।
यदी एपीएफसँग बराबरी वा पराजित भएको खण्डमा मच्छिन्द्र अघि बढ्न सक्नेछ । आर्मीको पहिलो उपाधि जित्ने अभियानमा बाधा पुग्न सक्नेछ । एपीएफ भने पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । बिहीबारको खेलमा आर्मीलाई हराएको खण्डमा एपीएफको रेलिगेशनको खतरा न्यून हुनेछ ।