वडाध्यक्ष हत्या प्रकरणः आफन्तले घटनास्थलबाट शव उठाउन दिएनन्, आन्दोलन आज पनि जारी

वडाध्यक्ष हत्या प्रकरणः आफन्तले घटनास्थलबाट शव उठाउन दिएनन्, आन्दोलन आज पनि जारी

२३ माघ, अछाम । पन्चदेवल विनायक नगरपालिका-२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको र हत्यारा पत्ता नलागेको भन्दै आफन्तले आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । शव फेलापरेको ३ दिन भैसक्दासम्म पनि आफन्तले घटनास्थलबाट शव उठाउन दिएका छैनन् ।

धामीको २१ गते बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा शव फेला परेको थियो। हत्याको विरोधमा विनायक बजार पूर्ण रुपमा बन्द रहेको छ। बुधबार दिनभर विनायकमा प्रर्दशन समेत गरीएको थियो भने बिहीबार समेत आन्दोलनलाई निरन्तरता दिएको मृतकका आफन्त दिपेन्द्र धामीले बताए ।

उनका अनुसार मध्यपहाडी लोकमार्ग समेत बन्द गरिएको छ । आफन्तहरुले हत्याराको पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाई गरेको भन्दै बिहीबार पनि विनायक बजार बन्दको आह्वान गरेको हो ।

अछाम प्रशासन, प्रहरी र स्थानीय तह र स्थानीय अगुवाहरुले शव उठाउनका लागि पहल गरीरहेका छन् । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछाम प्रहरी प्रमुख डिएसपी दीपक भारती, नगर उपप्रमुख अम्बिका चलाउने, नेकपाका प्रदेश सदस्य नन्दबहादुर कडायत, नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वार लगायत आफन्तहरुले मंगलबारदेखि विभिन्न चरणमा छलफल गरेका थिए। छलफल निश्कर्षमा भने पुग्न सकेको छैन ।

प्रहरीले सीआईबी र तालिम प्राप्त कुकुरको माध्यमबाट अनुसन्धान सुरु गरेको छ । कुकुरले मृतक अध्यक्ष दिउँसो हिँडेकोबाट पहिचान गरेको स्थानियले बताएका छन् । तर उनको हत्या भएको स्थान भने कुकुरले पत्ता लगाउन सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.