२३ माघ, काठमाडौं । सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई काठमाडौैका चार ठाउँमा राख्ने भएको छ ।
चीनबाट ल्याइएकाहरूलाई काठमाडौंको शिवपुरी, चङ्गुनारायण, सूर्य्विनायक र खरिपाटीमा राखिने भएको हो । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर यी चार ठाउँमा क्वारेन्टाइन व्यवस्थित गरी उनीहरुलाई राखिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्धारित कार्ययोजना अनुसार तयारीमा जुट्न स्वास्थ्य मन्त्रालयसहितका निकायलाई निर्देशनसमेत दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री सहितको छलफलमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी र नेपाली नागरिकलाई राख्न र उपचारको व्यवस्था गर्न तत्काल जुट्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीले कार्ययोजना योजनाबद्द रूपमा कार्यान्वयन गर्न पनि जिम्मेवार निकायको ध्यानाकर्षण गराएका छन् । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए ।
त्यस्तै, परराष्ट्र सचिव शंकरदास वैरागीले चीनबाट नेपाली ल्याउन भैरहेको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । नेपालले एक लाख ‘प्रोटेक्टिभ मास्क’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ ।