कांग्रेसको निष्कर्ष : अख्तियार राज्य र नेकपाको प्रभावमा पर्याे

कांग्रेसको निष्कर्ष : अख्तियार राज्य र नेकपाको प्रभावमा पर्याे

२३ माघ, काठमाडौँ ।
नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राज्य शक्तिको प्रभावमा परेको स्पष्ट भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरी अख्यितायरले राज्य शक्ति र नेकपाको प्रभावमा परेर वदनियत रुपमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि बालुवाटार ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा मुद्दा चलाएको बताए ।

उनले मन्त्रिपरिषद्ले गरेका निर्णयमा एकजना मन्त्रीलाई मात्र मुद्दा चलाइनुले सरकार आफ्नालाई जोगाउने र अरुलाई फसाउने खेलमा लागेको बताए । उनले संसदिय प्रणालीमा, प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्बाट भएका कुनैपनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुने भएपनि पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बावुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै एकजना मन्त्री मन्त्रिपरिषद्को निर्णयको भागिदार हुने कुरा आफैंमा वदनियतपूर्ण रहेको समेत बताए ।

उनले नेकपाका वर्तमान महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलका नाममा समेत जग्गा रहेको सिंगो देशलाई जानकारी हुँदा समेत मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा अख्तियार रहेको स्पस्ट हुने समेत बताए । उनले भक्तपुरमा मजदुरी गर्दै आएकी महोत्तरीकी तिलकुमारी खड्का यस्तै केसमा जेल जानुपरेको उल्लेख गर्दै सत्तामा रहेको पार्टीको कुनै एक नेताको छोरालाई कानून नलाग्ने विषय सामान्य नभई गम्भीर भएको बताए ।

प्रवक्ता शर्माले बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको बैठकले उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियारले दर्ता गरेको मुद्दा पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतले प्रेरित भएको ठहर गरेको समेत बताए । उनले नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरण राम्रोसँग गम्भिर भएर अनुसन्धान गरी दोशिलाई कारबाही गर्न माग राख्दै आएको तर बदनियत रुपमा आएका विषयलाई नमान्ने बताए । उनले अख्तियारले गहिरो तथ्यमा आधारित भएर अनुसन्धान गरे कांग्रेसले सघाउन तयार रहेको समेत बताए । उनले नेपाली कांग्रेसको नेताको मुद्दाको विषय मात्र नभएर एउटै निर्णयमा प्रधानमन्त्रीले उन्मुक्ती पाउने र एकजना मन्त्रीले कारबाही पाउने तथ्यको खोजि गर्नु स्वभाविक भएको बताए ।

उनले अदालतमा मुद्दा दायर भएपछि उपसभापति गच्छदारले अदालतको सम्मान गर्दै कानूनी रुपमा पनि सामना गर्ने र कांग्रेस पार्टी पनि कानूनी प्रकृया पालना गर्ने भन्दा बाहिर नजाने बताए । उनले बालुवाटार जग्गा प्रकरणको गहिरो अनुसन्धानात्मक छानविनको पक्षमा कांग्रेस रहेको बताए । यसबाहेक अन्य सबै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरुको गम्भीर र गहिरो अनुसन्धानको पक्षमा समेत कांग्रेस रहेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.