२३ माघ, काठमाडौं ।
जबरजस्ती सम्बन्धी कसुरमा नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक डीएसपी) राजकुमार खिउजुलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।
जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि खिउजुलाई पक्राउ गर्न बिहीबार जिल्ला अदालत ललितपुरले अनुमति दिएको हो । जिल्ला अदालत, ललितपुर स्रोतले खिउजुलाई प्रक्राउ गर्न अनुमती दिएको जनाएको छ ।
अनुमति प्राप्त भएसँगै खिउजुलाई खोज्ने काम भईरहेको प्रहरीले जनाएको छ । खिउजु अहिले फरार छन् । दुई दिनदेखि उनको मोबाइल पनि ‘स्वीच अफ’ छ ।
बुधबार साँझ ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।
त्यसयता पटकपटक खिउजुले बलात्कार गर्दै आएको पीडितको दाबी छ ।घटनालाई लिएर पीडित युवती विभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।
जाहेरी लगत्तै यूवतीको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।