२५ माघ, विराटनगर ।
Accountability Lab Nepal र विकल्प एन अल्टरनेटिभको सहकार्यमा Integrity Summit विराटनगरमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम जवाफदेहीता, पारदर्शिता, खुला सरकार र सुशासनलाई आत्मसात गरेर आफ्नो जिम्मेवारी पुरा गरिरहेका र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्तित्वहरूको समुदाय निर्माण गर्ने मञ्च रहेको कुरा कार्यक्रमका सहजकर्ता तथा विकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी गराए ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. भेषप्रसाद धमला, नर्थ साउथ कलेक्टिभ्सका संस्थापक तथा सल्लाहकार दिनेश श्रेष्ठ, सञ्चारकर्मी गणेश लम्साल, युवा उद्यमी अभिनायक मल्ल लगायतको सहभागिता रहेको थियो । Integrity हरेक क्षेत्रमा आवश्यक भएको र हिजो आज यो कुरा दुर्लभ सरह भएको विचार डा. भेषप्रसाद धमलाले राखेका थिए । उनले मनमा एउटा कुरा राखेर कर्मले अर्को कुरा गर्ने कुरा मानिस इमान्दार हुन नसक्ने तथा मानिसमा इमान्दारी र विश्वास भयो भने उसको व्यक्तित्वले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विचार ब्यक्त गरे ।
कार्यक्रमका अर्का वक्ता दिनेश श्रेष्ठको भनाइमा Integrity भएको मानिस सत्यनिस्ठ, समग्र इमान्दार र विश्वासयोग्य हुने भन्दै अहिले हरेक क्षेत्रमा नैतिकता र विश्वासको अभाव खट्किएको बताए । उनले विगतका दिनमा दशकौ लामो संघर्ष गरी सत्तामा पुगी नेतृत्व सम्हालेका मानिसहरू पनि आफ्नो जिम्मेवारी बिर्सिएर भ्रष्टाचारमा लिप्त भएको स्थिति देखिनु दुखलाग्दो रहेको बताए ।