२६ माघ, काठमाडौं ।
बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको कांग्रेसको आरोप छ ।
माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ लगायत लेखिएका नारा पर्चा बोकी चर्को नारा लगाएका थिए ।

केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर, नेकपाका नेता र निकटका व्यक्तिलाई उन्मुक्ति दिएएको भन्दै नेपाली कांग्रेसले संसद र सडकबाट विरोध गरिरहेको छ ।
