२८ माघ, काठमाडौं ।
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई मंगलबार ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब पुनः शीर्षस्थानमा उक्लेको छ । यो सँगै उपाधिको रोमाञ्चकता शनिबारको अन्तिम खेल सम्म पनि रहने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कप्तान भरत खवासको कीर्तिमानी गोलमा अग्रता लिएको आर्मीका लागि दोस्रो हाफमा विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए ।
पाँचौं मिनेटमा भरतको गोलबाट आर्मीले अग्रता लिएको थियो । जर्ज प्रिन्स कार्कीको क्रसमा भरतले हेडमार्फत गोल गरेका थिए । लिगमा त्यो उनको कीर्तिमानी ५० औं गोल हो । विकासले ५४ औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारेका थिए । सन्तोष तामाङको पासमा विकासले पेनाल्टी बक्सबाट हेडमार्फत गोल गरेका थिए । टेकले ७० औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए ।
अखिल नेपाल फुटबल संघ .(एन्फा) को तेस्रो ब्याचका भरतले यसअघि नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए । १० वर्ष भन्दा लामो लिग अनुभवमा उनी ५० गोल पुरा गर्ने थोरै खेलाडी मध्ये परेका छन् । लिगमा ५० गोल गर्ने उनी सातौं खेलाडी बनेका छन् । यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष साहुखलले ५० गोल पुरा गरेका थिए ।
सन्तोषले भने यहि लिगका दौरान लिगको एक सय गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेका छन् । भरतको कप्तानीमा आर्मीले लिगमा उच्च प्रदर्शन गरिरहेको छ ।
शनिबार शीर्ष दुई टोली आर्मी र सानमिगेल मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि जित्नका लागि त्यो खेलमा आर्मीले बराबरी गरे मात्र पनि पुग्ने छ भने मछिन्द्रले जित्नै पर्ने हुन्छ । १२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ ।
१२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछाडि छ । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।