२ फागुन, नवलपरासी । स्वामित्व विवादले रोकिएको बुटवल-नारायणगढ खण्ड सडकमा पर्ने रुख कटान पुनः सुरु भएको छ । डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिबीच काटिने काठ तत्काल समुदायकै जिम्मामा राख्ने (घाटगद्दी गर्ने) सहमति भएपछि शुक्रबारबाट रुख काट्न थालिएको हो ।
सडक डिभिजन कार्यालय दाउन्ने गैंडाकोट क्षेत्रका प्रमुख इन्जिनियर सुजन अधिकारीले वन विभागले दिएको पत्रमा रुख काटेर तत्कालका लागि स्थानीय सामुदायिक वनमा राख्ने सहमतिपछि काटेर स्थानीय वन उपभोक्ता समितिमा घाटगद्दी गरिदिने भएको जानकारी दिए । उक्त सडक ४ लेन बनाउन किनारका ४६ हजार २ सय ९४ हजार रुख काटिँदै छ ।
शुक्रबार बिहानैदेखि महेन्द्र राजमार्गअन्तर्गतको लोकाह जंगल क्षेत्रमा पर्ने सडकको उत्तरी किनारका रुख कटान भइरहेको छ । रुख वन कार्यालयको हुने कि सामुदायिक वनको भन्नेमा विवाद भएपछि पुस दोस्रो सातादेखि कटान रोकिएको थियो ।
सहमतिअनुसार काटिएका रुख सामुदायिकको हातामा राखिने भएको छ । सडक क्षेत्रमा काटिने रुख टेण्डर गरेर बिक्री गर्न (लिन) दुबै पक्षको हानाथाप भने कायमै छ । स्वामित्व विवाद साम्य भएपछि फटाफट रुख काट्ने काम अघि बढेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । गैंडाकोटदेखि दाउन्ने क्षेत्रका ३७ किलोमिटर क्षेत्रभित्र ३४ वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन् ।
सडक निर्माणको जिम्मेवारी पाएको चाइनिज ठेकेदार कम्पनि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले (सिएससिईसी) रुख काटेर स्थानीय सामुदायिक वनलाई काठ हस्तान्तरण गर्ने भएको छ । ईकान्तिपुरबाट साभार ।