३ फागुन, विराटनगर ।
विराटनगर महानगरपालिका–४ ढाटमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।
शनिबार बिहान कोशी राजमार्ग अन्तर्गत विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले प्रदेश २–०१–००१ प १६०८ नम्बरको ३ जना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक सिरहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । दुर्घटनामा गम्भीर घाईते सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको कोशी अस्पतालमै उपचार भइरहेको उनले बताए ।
तीव्र गतिमा रहेको मोटरसाइकल ओभरटेक गर्ने क्रममा टिपरको अगाडिको भागमा ठोक्किएको जनाईएको छ । दुर्घटना पश्चात आक्रोसित स्थानीयले टिपर रोक्ने प्रयास गरेपनि चालकले इलाका प्रहरी कार्यालय नेमुवा पु¥याएर रोकेका थिए ।
मोटरसाईकलमा सवार तीनै विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी रहेको खुलेको छ । टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३५ वर्षीय शशिकुमार थन्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।