५ फागुन, एजेन्सी । कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर मृत्यु हुने सबै ६ जना नेपालीको पहिचान खुलेको छ ।
गत बुधबार साँझ ५ बजे कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन ५ मा ढल निर्माणमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा छ नेपालीले ज्यान गुमाएका थिए ।
यसअघि चार जना नेपालीको परिचय खुलेको थियो भने आइतबारसम्म सबैको परिचय खुलेको कुवेतका लागि नेपाली राजदूतावासले जनाएको छ ।
मृतकमध्ये पाल्पाका एक बहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको यसअघि सनाखत भएको थियो ।
मृत्यु हुने अन्य दुई नवलपरासीका पुर्णबहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगरको आइतबार राजदूतावासले नाम सार्वजनिक गरेको हो ।
ढिस्कोले पुरिँदा अन्य दुई नेपाली घाइते समेत भएका थिए । घाइते धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डलको जाहारा अस्पतालमा उपचार गरिएको थियो ।