सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप, कालापानी क्षेत्र नपुगी फर्किए रक्षामन्त्री

सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप, कालापानी क्षेत्र नपुगी फर्किए रक्षामन्त्री

दार्चुला : भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ। भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ। भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ। नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीको काम भारतीय सुरक्षा बलले गरिरहेको छ।

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ। भारतले व्यास गाउँपालिका–१ र २ को सीमावर्ती क्षेत्रमा करिब डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर सडक बनाएको पाइएको छ। भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरिरहेको सडकका कारण महाकाली नदीको बहाव थुनिने, नदी क्षेत्र साँघुरिनुका साथै नेपालतर्फको घोडेटो बाटोमा समेत क्षति पुगेको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई जानकारी नदिई अन्तर्राष्ट्रिय सीमानदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो। यसपटक पनि सोही कार्य दोहो¥याएको छ तर यसबारे नेपाली पक्षलाई खासै खबर छैन।

यसैबीच दार्चुला भ्रमणमा आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान कालापानी क्षेत्र आसपास हवाई निरीक्षण गरेका छन्। बाक्लो हिउँका कारण हेलिकोप्टर ल्यान्ड गर्न नसकेपछि उनी कालापानी क्षेत्र वरैबाट फर्किए। उनले व्यास क्षेत्रको पनि हवाई निरीक्षणमात्रै गर्न भ्याए।,यो खबर आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.