६ माघ, काठमाडौँ ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक वियषयमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अतहर कमाल मसलमानले संसदभित्र धर्मका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गरे ।
जनताबाट निर्वाचित जनप्रतिनिधिले सदनभित्र विभिन्न धर्मका मत प्राप्त गर्ने र ती धर्मका बारेमा टिका टिप्पणी गर्दा सदनको गरिमामा आच आउने भएकाले धर्मका विषयमा अनावश्यक विवाद र बहस नगर्न आग्रह गरे ।
सांसद अमरेशकुमार सिंहले उखु किसानहरुले भुक्तानी नपाएको कुरा पटक पटक उठेपनि अझसम्म भुक्तानी पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग मन्त्रालयमा भएको सहमति अझैपनि कार्यान्वयन भएको भन्दै उहाँले सरकार किसान र जनता को हो की ? विचौलिया र दलालको को हो ? भन्दै प्रश्न गरे । उनले चाँडै किसानहरुको भुक्तानी दिनका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको प्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथा लगायतका महिला हिंसा भेदभावहरुको भित्रि कारण खोजेर मनको गोठ भत्काउने अभियान सुरु गर्नुपर्ने बताइन् । उनले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा समाचारमा आएपछि मात्रै सरकारले थाहा पाउने गरेको भन्दै दुःख समेत व्यक्त गरे ।
सांसद इन्दु कुमारी शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका कर्मचारीले तल्लो दर्जाका कर्मचारीहरुलाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गरिन् । आफु मातहतका कर्मचारीहरुलाई हेपाहा प्रवृतिका भाषा प्रयोग नगर्न उनले आग्रह गरिन् ।
सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताइन । दुई वर्षको समयमा सरकारले कुनै ठोस कार्यक्रम देखाउन नसकेको भन्दै उनले सरकारको प्रशंसा गरेर समाचार नछापेको भन्दै सञ्चारामध्यमलाई थर्काउने काम भएको बताइन् । आफै बालुवाटारमा बासुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने भन्दै उनले प्रश्न समेत गरिन् ।
सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका २२ सुन्धारा छेउमा रहेको सरकारी जग्गा १ सय वर्षदेखि मुस्लिम समुदायले प्रयोग आएकोमा अहिले त्यहाँको जग्गा विचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । वि.स.२००२ सालमा मस्दिज बनाएर मुस्लिम समुदायले प्रयोग गरिरहेको जग्गा अहिले कसरी व्यक्तिको नाममा आयो भन्दै उनले प्रश्न समेत गरिन् ।
सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थला निर्माणका क्रममा अधिग्रहण गरिएको थप जग्गाको मुआब्जाका विषयमा आफ्नो धारणा राखे ।
सांसद खेमप्रसाद लोहनीले बुढिगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण सरकराले गरेपनि आरुघाट खहरे लगायतका स्थानीयले मुल्यको एक चौथाई पनि नपाएको भन्दै विरोध गरिरहेको प्रति ध्यानाकर्षण गराए । उनले मुआब्जा पुर्ननिर्धारण गरी जनताका माग सम्बोधन गर्न आग्रह गरे ।
सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरे । उनले भने, ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्बादे श्री स्वस्तानी कथाले बालुवाटार प्रकरण वर्णायम प्रमथ अध्याए धन्यवाद’ ।
सांसद गणेशकुमार पहाडीले युटिलिटी करिडोरका लागि छुट्टै कानून आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद गौरीशंकर चौधरीले टीकापुरबाट निर्वाचित सांसद रेशम चौधरी लगायत थारु आन्दोलनका क्रममा जेल परेकाहरुको रिहाइको माग गरे । उनले टीकापुर घटनाका विषयमा गठित लाल आयोगको प्रतिवेदन माग गर्दै चौधरी लगायत अन्यमाथि लागाइएका झुठा मुद्दाहरु फिर्ता गरि रिहाइको माग गरेका हुन् ।
सांसद जुली कुमारी महतोले जनकपुरमा र भैरहवामा भएका सामूहिक बलातकारका घटनामा पक्राउ गरेका दोषिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरिन् । त्यसैगरी तराई जिल्लामा चलनमा रहेको दाईजो, बालविवाहका घटना कम गर्न लागि सरकारले विशेष कानून ल्याएर योजना बनाउन आग्रह गरिन् ।