चल्ला र दानाको कृत्रिम मूल्य फिर्ता लिन कुखुरापालकको माग

चल्ला र दानाको कृत्रिम मूल्य फिर्ता लिन कुखुरापालकको माग

६ फागुन, काठमाडौँ ।
राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ । संघर्ष समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापन पत्र बुझाउँदै चल्ला र दानामा कृत्रिम वृद्धि गराइएको भन्दै फिर्ता गराउन माग गरेको हो ।

संघर्ष समितिका संयोजक विष्णु खड्काले गत माघ ११ देखि १८ गते सम्म ८ दिनको बिचमा तीन पटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँले बढाइएको बताए । उनले चल्लाको मूल्यमा भएको कालोबजारीको विरुद्ध वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दिएपनि कुनै चासो नदिनुले कालोबजारीमा विभागको समेत मिलेमतो भएको आरोप लगाए । उनले आफुहरु अन्यायमा परेको अवस्थामा सरकार समेत चुप बस्दा पेशा छोड्ने अवस्थामा पुगेको बताए ।

कुखुरापालक किसानहरुको ज्ञापनपत्र बुझ्दै विभागका महनिर्देशक नेत्रप्रसाद सुवेदीले आफुलाई व्यापारी तथा उद्योगीसँग मिलेको उल्लेख भएको भन्दै आपत्ति जनाए । उनले विभागले कसैसँग मिलेमतो नगरेको स्पस्ट पार्दै चल्ला र दानाको मूल्य बढेको विषयमा भिगाले अनुसन्धान गरिरहको बताए । उनले कुरा मिलुन्जेल मिलेमतोमा मूल्य बढाउने र विग्रिएपछि एकैदिनमा समाधान खोज्ने प्रवृतिको अन्त्य गर्न किसानहरुलाई आग्रह गरे । उनले क्रान्तिकारी कुरा गरेर समस्याको समाधान नहुने भन्दै विभागलाई वस्तुगत आधारहरु प्रस्तुत गर्न किसानहरुलाई आग्रह गरे ।


महानिर्देशक सुवेदीले चल्ला र दानाको मूल्य निर्धारण र किसानले मूल्य नपाउने विषय गम्भिर भएकाले विभागको ध्यानाकर्षण भइसकेको बताए । उनले आवश्यक अध्ययन बिना हचुवाका भरमा कारबाही नहुने र विधि प्रक्रिया पूरा गरी कारबाही गरिने आश्वासन समेत दिए ।

राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले गत माघ २० गते चल्ला र दानाको मूल्यमा कृत्रिम वृद्धि गराइएको भन्दै कारबाही गर्न लिखित रुपमा निवेदन दिएको थियो । तर अहिलेसम्म कारबाही हुन नसकेपछि आफुहरु ठूला उद्योगी व्यवसायी र सरकारी निकायबीचको मिलेमतोमा कालोबजारी भइरहेको निष्कर्षमा पुगेको उनीहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.