७ फागुन, काठमाडौं ।
महाशिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार जना स्वयंसेवक खटाइने भएको छ । फागुन ९ गते मनाइने शिवरात्रीमा नेपाल स्काउटका स्वयंसेवकसहित ५ हजार जना स्वयंसेवक खटाइने कोषले जनाएको छ ।
पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि बाहिरी क्षेत्रमा मात्र परिचालन गर्ने जानकारी दिए ।
शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै गाँजा चरेश खाएर शिवरात्री पर्व मनाइन्छ भन्ने सन्देशलाई गलत ठह¥याउन शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको उनले बताए ।
शिवरात्रीका अवसरमा पशुपति मन्दिर दर्शन गर्न चारवटा लाइनको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको जानकारी दिएको छ । दर्शन गर्न जानेहरु जुन मार्गबाट प्रवेश गर्छन् त्यही मार्गबाट फर्किनुपर्नेछ ।