८ फागुन, काठमाडौं ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ ।
सेक्युरिटी प्रेस खरिदका लागि बास्कोटाले एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रेस खरिद अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’