चितवनका वडाध्यक्ष पौडेल आमरण अनशनमा

चितवनका वडाध्यक्ष पौडेल आमरण अनशनमा

८ फागुन, चितवन । माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै चितवनको माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन सुरु गरेका छन् ।

वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सात बुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन सुरु गरेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) २०७६ पुनः संशोधन हुनुपर्ने, बाँदरझुला र अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द निवारण गर्न वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सिमानामा पर्ने रीउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने रहेका छन् ।

‘माडीवासी जनताको तर्फबाट आमरण अनशन’को नाम दिइएको छ। नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग माडीको समस्याको बारेमा छलफल गर्न आफू काठमाडौँ जाने तयारीमा रहेको जानकारी दिए।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.