बालबालिकाका लागि दमकमा क्षमता विकास तालिम

बालबालिकाका लागि दमकमा क्षमता विकास तालिम

८ फागुन, दमक ।
वडा बाल सञ्जाल, दमक–८ को आयोजनामा तीन दिने क्षमता विकास तालिम सुरु भएको छ । वडा नम्बर ८ कार्यालयको समन्वयमा बिहीबारबाट सुरु भएको क्षमता विकास तालिमको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले बालबालिकाले आजनै आफ्नो क्षमता बुझेर अगाडि बढ्नुपर्ने बताइन् । साथै उनले बालबालिकालाई छिट्टै विवाह नगर्न सचेत पनि गराइन् ।

त्यस्तै वडा बाल सञ्जालका संरक्षक समेत रहेका वडा अध्यक्ष पशुपति राज गौतमले वडा कार्यालय बालबालिका प्रति गम्भीर भएको बताए । उनले दमकलाई बालमैत्री नगर बनाउने प्रक्रियामा रहेको बताउँदै तत्काल तीन वटा वडामा कार्यक्रमहरु कार्यान्वयनको क्रममा रहेको बताए । वडाअध्यक्ष गौतमले वडा बाल सञ्जाललाई अझै सक्रिय रुपमा अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा नगर बाल सञ्जाल दमकका अध्यक्ष, दमक नगरपालिकाकी कार्यपालिका सदस्य मिना प्याकुरेल, वडा सदस्यहरु उद्धव राई, बुद्धमाया गजमेर , वडा सचिव निधि ढुङगेल लगायत वडाका १० वटा विद्यालय र बाल क्लबबाट ६० जनाको सहभागिता रहेको थियो ।

तीन दिनसम्म चल्ने तालिममा भाषणकला, उद्घोषण र बाल क्लव सम्बन्धि तालिम दिइने वडा बाल सञ्जालका अध्यक्ष राम खतिवडाले जानकारी दिए । तालिमको सहजीकरण कन्चनजंघा एफ. एम का दिपेन्द्र पौडेल, जेसिजका प्रशिक्षक हरि कृष्ण भण्डारी र बाल अधिकारकर्मी सुमन अधिकारीले गर्ने उनले बताए । तालिमको अन्तिम वडा बाल सञ्जालको साधारण सभाबाट पुनर्गठन हुने जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.