९ फागुन, काठमाडौँ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ । शुक्रबारको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने भएको हो ।
केन्द्रीय समिति बैठकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार पारिसेको र सम्भवतः शुक्रबार नै बुझाउने तयारी रहेको कार्यदलका सदस्य भीम रावलले बताए । सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन भएको उनले बताए । ‘‘गहन विश्लेषण र विस्तृत अध्ययन पश्चात प्रतिवेदनको मस्यौदा तयार भएको छ । तयार प्रतिवेदनको मस्यौदालाई सम्भवतः आज बुझाउँछौँ । त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडी बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि जानकारी होला । प्रतिवेदन नबुझाई के के कुरा समेटिएको छ भनेर भन्न सकिँदैन् ।’’ उनले भने, ‘‘केन्द्रीय कमिटि बैठकले नै अध्ययन पछि प्राप्त सुझावहरुका आधारमा सम्बन्धित तहबाट छलफल भएपछि निर्णय गर्ने भन्ने छ । त्यस अनुसार नै हुन्छ । ’’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो । एमसीसीको मुल सम्झौता सँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताए ।