११ फागुन, हेटौंडा ।
वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आएका गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापाको भनाइ छ ।
नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका छन् ।
उनले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताए ।
एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उनको भनाइ थियो । नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट टुंगो लाग्ने मन्त्री थापाले बताए ।
परराष्ट्र मन्त्रालयले यो विषयमा आवश्यक पहल गरिरहेको छ, उनले भने, सरकारले छिट्टै दुई देशबीच यो विषयमा कूटनीतिक तवरमा वार्ता हुनेछ ।’