१२ फागुन, काभ्रे । रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरेकी छिन्। गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरी एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।
वडा नम्बर ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गरेका छन् । सरकारद्वारा कर छुटसहित २१ लाख पाँच सय २० रुपैयाँमा दुई एम्बुलेन्स खरिद गरिएको हो । ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने छन्। उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको बताइन्।
गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै २६ लाख रकम रुपैयाँ छुट्याएको थियो। गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेको बताए। बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वा्चित भएदेखि नै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन्।
भौगोलिकताले विकट एवं पहाडी भूभाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उनले बताइन्। उनले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिएकी छिन्। उनलाई वार्षिकरुपमा इन्धनबापत आउने तीन लाख रुपैयाँ टुहुरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेकी हुन्।
हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही छ हजार दुई सय ५० रुपैयाँ सहयोग गरेको उनले बताइन्। गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने बर्तौलाले बताइन्।
गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौ वटा समितिको संयोजकका रुपमा रहेकी गाउँपालिका उपाध्यक्ष बर्तौलाले कुनै पनि बैठकका भत्तासमेत लिन्नन्। यसअघि पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा १४ वडाध्यक्षलाई सवारीसाधन खरिदका लागि छुट्याइएको बजेटबाट गत असारमा दमकल खरिद गरेको थियो। (रासस)