१२ फागुन, चितवन ।
व्यवस्थापनको हिसाबले नेपाल प्रहरीको अवस्था त्यति राम्रो नभएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
सोमबार चितवन जुटपानीमा बनेको प्रहरी चौकी भवनको उद्घाटन गर्दै थापाले प्रहरीको अवस्था सडकछापको जस्तो रहेको जनाए । प्रहरीको मनोबल उठाउन चौकी र भवनहरु बनाउन आवश्यक रहेको उनको धारणा थियो ।
देशका धेरै ठाउँमा चौकीको भवन नै नभएको उनले बताए । उनले सरकारले ‘एक टोल एक चौकी र एक पालिका एक इलाका प्रहरी’ स्थापना गर्ने योजना अगाडि सारेको जानकारी दिए । सरकारले छिट्टै प्रदेश प्रहरी गठन गर्न लागेको पनि उनले बताए ।
यसका लागि समायोजनको प्रक्रिया सुरु भएको उनको भनाइ छ । शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश प्रहरीको पनि हुने उनले बताए । संघीय र प्रदेश प्रहरीको समन्वयमा स्थानीय तहमा शान्ति सुव्यवस्था कायम गर्ने योजना सरकारको रहेको उनले बताए ।
कालिका नगरपालिकाको जुटपानीमा स्थापना भएको प्रहरी चौकीको निर्माण लागत एक करोड ६५ लाख रुपैयाँ रहेको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक शंकर सिलवालले पेस गरेको प्रगति प्रतिवेदन अनुसार साढे दुई तले भवनमा ११ वटा कोठाहरु रहेका छन् । भवन निर्माणको प्रक्रिया ७५ सालको भदौदेखि सुरु भएर गएको मंसिरमा निर्माण पूरा भएको थियो ।