१३ फागुन, सुर्खेत । कर्णाली करिडोरमा एक जीप दुर्घटना भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार बिहान १० बजेतिर दुर्घटना हुँदा जीप कर्णाली नदीमा खसेको छ । १ च ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार कर्णाली करिडोरमा संचालन हुने उक्त जीप जिते बजारको पुल पारी यात्रुलाई झारेर फर्किने क्रममा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ । कर्णाली करिडारको जीरो पोइन्टबाट यात्रु झारेर मोड्ने क्रममा दुर्घटना भएको हो ।
जीप नदीबाट निकाल्ने काम भइरहेको छ । उक्त जीप कर्णाली करिडोर अन्तर्गत पचालझरना गाउँपालिका केन्द्र जारकोटबाट यात्रु ल्याएर लालिघाट छोडेर फर्किँदै थियो । (रासस)