तत्कालीन पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिको निष्कर्ष

तत्कालीन पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिको निष्कर्ष

१३ फागुन, काठमाडौं । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिको निष्कर्ष छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ । मन्त्रालयले उक्त दुर्घटनाको छानविन गर्नका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति बनाएको थियो।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो । विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो।

मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ। हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ।

बिहानको ११ः४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको थियो। हेलिकप्टर १२ः३४ मा दुर्घटनाग्रस्त भएको थियो। प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकप्टर दुर्घटनामा परेको बताएको छ।

दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइलमात्र (३७० मिटर) रहेको छ। हेलिकप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ।
दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी रहेको समितिको ठहर छ।

समितिका अनुसार सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए। अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए।

जवकी सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए। जुन उनीहरुले लागू गरेनन्।

तौल मिलाउन नसक्दा पाइलटलाई असहज अवस्था आएको र कठिन समयमा सही निर्णय लिनबाट चुकेको हुनसक्ने समितिको ठहर छ। प्रतिवेदनका अनुसार तेह्रथुम पुग्दा २४० केजी इन्धन बाँकी र पाथिभराबाट हिड्दा १९५ केजी बाँकी रहेको हुनसक्ने देखिएको छ।
यही कारणले दुर्घटना नटरे पनि मानवीय क्षति रोक्न सकिने उनको विश्वास छ।

त्यस्तै हेलिकप्टर कम्पनीले गलत प्लान दिएर पाइलटले एक्कासी योजना परिवर्तन गरेको समितिले ठहर गरेको छ। समितिका अनुसार कम्पनीले काठमाडौंबाट पाँचथर जाने योजना बुझाएको थियो। तर एक्कासी तेह्रथुप गएर पाथिभर पुगेको देखिन्छ।

त्यस्तै पाइलटले होस गुमाएको हुनसक्ने समितिले निष्कर्ष निकालेको छ। हाइपोक्सियाको प्रारम्भिक लक्षण देखिएर कठिन परिस्थितिमा पाइलटले होस गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.