१५ फागुन, काठमाडौँ । आज घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेलको समूह अलग्गिएको छ । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।
भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्कालका लागि अलग्गिएका हुन् । एक सञ्चारमाध्यमसंगको कुराकानीमा खरेलले अहिलेका लागि समूहमा नरहने बताउँदै घोषणासभामा उपस्थित नहुने बताएका छन् । ज्ञानेन्द्र शाही अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् ।
पूर्व्निर्धा्रित कार्यक्रमबाट अलग्गिएको प्रति सार्वजनिक रुपमै माफी मागेको र भोलिका दिनमा त्यहीअनुसार अघि बढ्ने खरेलले बताए। बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो। तर आन्तरिक विवाद चुलिएपछि खरेल, सिटौला र यादवको समूह अलग्गिएको हो ।
२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए ।