कार दुर्घटनामा माले महासचिव मैनालीसहित ५ जना घाइते

कार दुर्घटनामा माले महासचिव मैनालीसहित ५ जना घाइते

१५ फागुन, महोत्तरी ।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले) महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ ।

दुर्घटनामा महासचिव मैनाली सख्त घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ । बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा महासचिव मैनालीका छोरा, बुहारी, नाती र चालक गरी पाँच जना घाइते भएका छन् । झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । दुर्घटनामा मैनाली र बुहारी पूजा सख्त घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईंले जानकारी दिए ।

उनको बुहारीको दुवै खुट्टा भाँचिएको छ । घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.