१६ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन् ।
शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन् । उनले कमिसनमा मोलमोलाइ गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएका छन् । उनले, ‘म विरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’ भन्दै ट्वीटरमा लेखेका छन् ।
यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गरेका थिए। बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको बताए।
बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताएका छैनन्। प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरेका थिए । उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको समेत बताएका थिए ।