१७ फागुन, काठमाडौँ ।
नेपालले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसियासँग अप्रत्याशित हार बेहोरेको छ ।
थाइल्यान्डमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल तुलानात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी मलेसियासँग २२ रनले पराजित भयो। नेपालले १४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएको थियो।
पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन जोडेको थियो। मलेसियाका सेयद अजिज सेयद मुबारकले सर्वाधिक ५१ रन बनाए। अहमद फैज मोहम्मद नुरले ३०, मोहम्मन अनवर अरुदिनले ३१ र अमिनुदिन राम्लीले २९ रन बनाए।
नेपालका बलर सन्दीप लामिछानेले तीन विकेट लिए। अविनाश बोहोराले २ र करन केसीले एक विकेट हात पारे।
नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र जोड्यो। नेपालका ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८ रन बनाए। पवन सर्राफले १९ रन जोडे। कुशल मल्लले ०, पारस खड्का ९ र विनोद भण्डारी सात रनमा आउट भए।
८९ रन जोड्दा दुई विकेट मात्र गुमाएको नेपालले तेस्रो विकेटका रुपमा ज्ञानेन्द्रलाई गुमाएपछि लगातार दबाबमा आएको थियो। ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन्।
मलेसियाका सर्विन मुनान्दी एक्लैले चार विकेट लिए। अन्य तीन जना बलरले दुई दुई विकेट हात पारे। मुनान्दीले ३.५ ओभरमा केवल १३ रनमात्र खर्चिए। उनले २० औँ ओभरमा ३ विकेट लिए। पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन लिग आधारमा सन्चालन हुने छ।
शीर्ष दुई टोली एसिसि इमर्जिङ टिम्स एसिया कपको छनोटमा पुग्नेछन्। प्रतियोगिताअन्तर्गत नेपालले आइतबार हङकङसँग खेल्ने छ।