आफ्नै सन्तानलाई नदीमा डुबाएर हत्या गरेको आरोपमा महिला पक्राउ

आफ्नै सन्तानलाई नदीमा डुबाएर हत्या गरेको आरोपमा महिला पक्राउ

१७ फागुन, वीरगंज ।
आफ्नै सन्तानलाई नदीमा डुबाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले हिरासतमा लिएको छ।

भारत बिहार रतनपुरी घर भइ वीरगंज–२५ श्रीसिया आदर्शचोकमा ग्यारेजमा काम गर्ने रमोद साहकी श्रीमति उर्मिला देवीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

‘तीन बच्चा वेपत्ता भएको पर्सा प्रहरीमा उजुरी परेको थियो, शुक्रवार श्रीसिया नदीमा एक वर्षीया छोरा प्रसान्त साहको नदीमा डुबेको अवस्थामा शव भेटिसकेको छ, अरु दुई जनाको शव खोज्ने काम भइरहेको छ,’प्रहरी उपरीक्षक पन्तले भनिन्,‘प्रहरीको सोधपुछमा उर्मिलादेवीले तीन जनालाई नदीमा डुबाएर मारेको स्टेटमेन्ट दिएकी छन्, तर जबसम्म अन्य दुई जनाको शव भेटिदैन उनीहरुको पनि हत्या भएको हो वा बेपत्ता छन् भन्न सकिदैन।’

रमोदको बेपत्ता भनिएका ५ वर्षीय छोरा अमरद्विप र ३ वर्षीया छोरी आँसुकुमारी अझै फेला परेका छैनन्। एक वर्षीय छोरा प्रसान्तको शव वीरगञ्ज–१६ पशुपतिनगर छेउ दशगजास्थित श्रीसया नदीबाट शुक्रवार विहान भेटिएको थियो।

नदीको डिलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेकी उर्मिलादेवीको माइत बारा,गढीमाई मन्दिर नजिकै रहेको मलहनी टोलमा पर्छ।

गरिबी र कमजोर पारिवारिक अवस्थाको कारण रमोद र उर्मिलाको वीचमा सधै झगडा हुँदै आएको र रिसमा आएर उर्मिला यस्तो कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.