बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

१७ फागुन,धरान ।
२२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ । शनिबार धरानको धरान रंगशालामा भएको फाईनल खेलमा मनाङले नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै चौथो पटक बुढासुब्बा गोल्ड कप जितेको हो ।

योसँगै मनाङ तीनै पटकको फाइनलमा पुलिसलाई हराउन सफल भएको छ । मनाङको जितमा दयानन्द सिंह, विशाल लिम्बु र विमल रानाले गोल गरेका थिए । पुलिसका लागि भोला सिलवालले पेनाल्टीमा गोल फर्काएका थिए ।

मनाङले खेलको ११ औँ मिनेटमा दयानन्द सिंहको गोलबाट अग्रता लिएको थियो । बुढासुब्बामा प्रतियोगितामा दायानन्दको यो चौथो गोल हो । रक्षक सुमन सुवेदी र गोलकिपर सञ्जिव श्रेष्ठको तालमेल अभावमा मनाङ अग्रता लिन सफल भएको हो ।

सुमनको ब्याक पासमा आएको बललाई सञ्जिवले अघि बढाउन ढिलाई गरेपछि त्यहि बल खोस्दै दयानन्दले गोल गरेका हुन् । त्यस्तै खेलको ५० औं मिनेटमा विशालले गोल थपे । भोलाले ६५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । पेनाल्टी एरियामा जुमानु राईलाई मनाङका खेलाडीले लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो ।

६ मिनेटको इन्ज्युरी समयमा विमलले गोल गर्दै मनाङको जित निश्चित गरेका थिए । उपाधि विजेता मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.