१८ फागुन, काठमाडौं । एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतबार भएको खेलमा नेपाललाई हङकङले ४३ रनले पराजित गरेको हो ।
यसअघि नेपाल शनिबार भएको आफ्नो पहिलो खेलमा मलेसियासँग हारेको थियो । हङकङसँग हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट खेल्ने नेपालको लक्ष्य कठिन मोडमा पुगेको छ ।
थाइल्यान्डमा भइरहेको प्रतियोगितामा आइतबार हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव १ ओभरमा १ सय ११ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४६ रन जोडे । उनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनीसँगै ओपनिङ गरेका कुशल मल्लले १४ बलमा १४ रन जोडे ।
अन्य नेपाली ब्याट्सम्यान सस्तैमा आउट भए । पारस खड्का ४ रन, दीपेन्द्रसिंह ऐरी ५ रन, पवन सर्राफ १ रन, विनोद भण्डारी ५ रन, आरिफ शेख १० रन, करण केसी ७ रन र सन्दीप लामिछाने ० मा आउट भए । अभिनास बोहाराले आउट हुनुअघि १२ रन जोडे ।
नेपालको इनिङ ध्वस्त पार्ने क्रममा हङकङका हारुन मोहमद अर्सादले ४ विकेट लिए। अफ्ताव हुसेनले ३ विकेट र इशान खानले २ विकेट लिए।
थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन जोड्यो।
हङकङका लागि ओपनिङ ब्याट्सम्यान निजाकत खानले सबैभन्दा बढी ४८ रन जोडे। उनले २९ बलमा ६ चौका र २ छक्का हिर्काए। ओपनर साहिद वासिफले २९ रन बनाए। उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। जेम्स एटकिनसन १३ रनमा आउट भए।
मोहमद आइजाज खानलाई २९ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए। बलिङमा नेपालका सन्दीप लामिछाने र सुसन भारीले २(२ विकेट लिए। सन्दीपले ४ ओभरमा २५ रन र सुसनले ३७ रन दिए। सुसनले हङकङका दुवै ओपनरलाई आउट गरे।
कुशल मल्लले १ विकेट हात पारे भने तीव्र गतिका बलरद्वय करण केसी र अभिनास बोहराले विकेट लिन सकेनन्। प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन्।