सामाजिक कुरितीविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सामाजिक कुरितीविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

१८ फागुन, काठमाडौं ।
सांसदहरुले बोक्सा—बोक्सी, दाइजो लगायतका कुरिती र एसिड प्रहार जस्ता आपराधिक कार्य अन्त्यका लागि कानूनी कारवाही गरी र विशेष अभियान सञ्चालन गर्न माग गरेको छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागि सांसदहरुले यस्तो माग गरेका हुन् ।

सांसद विन्दा पाण्डेले ‘बोक्सा—बोक्सी, दाइजो लगायतका कुरिती र एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा अमानविय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरीति र विकृतिको अन्त्यका लागि कानूनी कारवाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकाले’ जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्ताव दर्ता गर्दै सांसद पाण्डेले कानूनले दाइजोलाई अपराधिकरण गरेपनि दाइजोको नाममा गतवर्षमात्रै १३ जनाले महिलाले ज्यान गुमाउनुपरेको बताइन । ३ सय भन्दा बढीले महिलाले दुव्र्यवहार र हिंसा भोग्नुपरेको उहाँले बताए ।

नेपालको संविधानले महिला विरुद्ध हुने कुनै पनि हिंसा र शोषणजन्य कार्य गर्न नहुने र गरिएमा पीडकलाई कारवाही गरी पीडितले क्षतिपूर्ति पाउने व्यवस्था गरिएको भएपनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उनले बताइन ।

प्रदेश नम्बर २ सरकारले बेटी बचाउ बेटी पढाउ अभियान सुरु गरेको उल्लेख गर्दै उनले अन्य प्रदेशहरुमा पनि यस्ता कार्यक्रममा सञ्चालन भएपनि त्यसले मात्रै छोरीहरुको जीवनरक्षा गर्न सकिने अवस्था नभएको बताइन ।

महिलामाथि हुने हिंसा अन्त्यका लागि संघीय सरकारले देखी प्रदेश सरकार र स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गर्नुपर्नेमा पाण्डेले जोड दिइन । दाइजोप्रथा अन्त्य गरी सम्पत्तिमाथिको समान अधिकार हुनुपर्ने कानूनहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने उनले बताइन ।

महिलामाथि हुने हिंसा अन्त्यका लागि कानूनी कारवाही प्रभावकारी हुनुपर्ने र सचेतना अभियान चलाउनुपर्ने उनले बताए । उनले एसिडको विक्रि वितरणलाई कडाईका साथ नियमन गर्नुपर्ने र गैरकानूनी रुपमा विक्रिवितरण गर्नेमाथि कडा कारवाही गर्नुपर्ने बताइन ।

सांसद पाण्डेले एसिड प्रहार गर्नेलाई आजिवन सजायको व्यवस्था हुनुपर्ने माग समेत गरिन । पीडितको उपचार खर्च र क्षतिपूर्तिका विषयमा राज्य जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले भनिन, ‘पीडितको उपचार खर्च तत्काल राज्यले व्यहोर्ने र पीडकबाट राज्यको कोषमा जम्मा गर्नुपर्ने व्यवस्थाका साथै क्षतिपूर्तिको विषयमा पूनर्विचार हुनुपर्छ ।’

पीडितका लागि मनोसामाजिक परामर्श सेवा, शिक्षा र रोजगारीको विषयलाई गम्भिर रुपमा लिन पनि उनले आग्रह गरिन । महिलामाथि हुने हिंसाका घटनाहरु न्यूनिकरण गर्न सकेमात्रै समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा हुने उनले बताइन ।

प्रस्तावको समर्थन गर्दै सांसद नवराज सिलवालले कानून निर्माण भएपनि व्यवहारिक रुपमा प्रयोगमा आउन नसकेको बताए । संसदले कानून निर्माण गर्ने मात्रै नभएर राज्यले सहि रुपमा कार्यान्वयन गर÷नगरेको कुराको अनुगमन गर्नुपर्ने पनि उनले बताए । ‘कानून बनाएर मात्रै चुप लागेर बस्ने अवस्थामा संसद हुनुहुदैन कार्यान्वयनको कुरामा पनि संवेदनशिल हुनुपर्छ’, उहाँले भन्नुभयो ।

अपराधिलाई सजाय दिएर मात्रै राज्य पन्छिन नमिल्ने उल्लेख गर्दै सिलवालले पीडितको पुर्नस्थापनाको जिम्मा पनि लिनुपर्ने बताए । सांसद सरिता कुमारी गिरीले छोरीलाई दाइजोको सट्टा शिक्षा देउ भन्ने अभियान प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने बताइन ।

महिलामाथि हुने हिंसा अन्त्यका लागि बेटी बचाउ बेटी पढाउ अभियान मात्रै प्रयाप्त नभएको उल्लेख गर्दै उहाँले छोरीहरुका लागि शिक्षा विमाको आवश्यकता औल्याइन ।

आर्थिक अभावले कतिपय ठाउँमा छोरीलाई पढाउन नसक्ने अवस्थामा अभिभावकहरु रहेको भन्दै उहाँले छोरीलाई आत्मनिर्भर बनाउनका लागि राज्यबाट निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने बताइन ।

एसिड विक्रि राज्यबाट अनुमति प्राप्त व्यक्तिले मात्रै गर्न पाउने र किन्ने व्यक्तिको सम्पूर्ण रेकर्ड राख्ने प्रावधान बनाउनुपर्नेमा उनले जोड दिइन । जरुरी महत्वको प्रस्तावमाथिको छलफमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले त्रृटीपूर्ण सामाजिक मुल्यमान्यताहरुले स्थापित गरेका प्रथाहरु जीवित रहेकाले कानूनले समेत त्यसको अन्त्य गर्न नसकेको बताए ।

उनले अपराधि जोसुकै भएपनि जोगाउन लागिपर्ने छैन भन्ने संकल्प सबैले गर्नुपर्ने र प्रत्येक वडामा रहेका वडा सदस्यहरुको अध्यक्षतामा कार्यदल बनाएर त्रृटीपूर्ण सामाजिक मुल्यमान्यता विरुद्ध निरन्तर अभियान चलाउनुपर्ने बताए ।

सांसद डिला संग्रौला पन्तले महिला हिंसा विरुद्धका दिवस नजिकिने समयमा मात्रै यस्ता कुराहरु बहसमा आउने र कानून कार्यान्वयनमा गम्भिर हुन नसक्दा घटनामा कमि आउन नसकेको बताइन् ।

सांसद पार्वता डिसी चौधरीले अभियान विरुद्धको सुरुवात आफैबाट गर्नुपर्ने बताइन् । सांसद सत्या पहाडीले गलत सोचका कारण यस्ता प्रवृतिहरु देखापर्ने गरेको बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.