ट्याक्सीमा छोडेका सामान बुझाउने २१ चालक सम्मानित

ट्याक्सीमा छोडेका सामान बुझाउने २१ चालक सम्मानित

१९ फागुन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ । महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफै आई महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बुझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले बताए । उनले यात्रुहरुले यात्रा गर्दा भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफै प्रहरीमा बुझाई मानविय सहयोग गरेकाले सम्मान गरिएको बताए ।

आफ्नो ट्याक्सीमा छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफुहरुलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरुले बताएका छन् । ट्याक्सी चालक रिधबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताउनुभयो ।

ट्याक्सी चालक रोयतबहादुर रोक्काले आफ्नो ट्याक्सीमा छुटेको समान प्रहरीमा बुझाउँदा सम्मानित हुन पाउनु खुसिको कुरा भएको बताए । उनले भलुवस ट्याक्सीको पछाडी समान छुटने तर आफुहरुले थाहा नपाउँदै अर्को प्यासेन्जरले सामान लगेको अवस्थामा उजुरी पर्दा आफुहरुलाई समस्यामा पर्ने गरेको बताए ।

यस्तो अवस्थामा प्रहरीले उचित अनुशन्धान गर्नुपर्ने उनले बताए । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गते भित्र ट्याक्सीमा छुटेको सामान आफैले प्रहरीमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो ।

त्यस्तै यो अवधिमा ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको संख्या ३ सय ९५ जना रहेको र त्यस मध्ये २ सय ८० जनाको १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको छ ।

त्यस्तै ६३ जनाको निवेदन अनुसार सवारी साधन फेला परेपनि सामान पाउन नसकिएको र ५२ जनाको सवारी नम्बर समेत फेला नपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.