तेस्रोलिंगी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेका ५ जना कारागार चलान

तेस्रोलिंगी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेका ५ जना कारागार चलान

२० फागुन, हेटौंडा । हेटौंडाकी करिब ३९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई पुर्पक्ष थुनामा पठाइएको छ ।

जिल्ला अदालत मकवानपुरले उक्त आदेश दिएको हो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि एलिशाले धरौटी तिर्न नसक्ने बताएपछि उनलाई चितवन कारागार चलान गरिएको छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलाशले हत्यामा संलग्न रहेका ५ जनालाई पुर्पक्षका लागि करागार पठाउन र एलिशालाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । हत्या आरोपी हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भनिने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा–४ का घन्टाउके भनिने सुशील थापामगर र सोनम गोलेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालतका स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । हत्यामा संलग्न एक व्यक्ति एलिशाकी साथी थिइन् । उनै साथीले अजिताको मोबाइल एलिशालाई उपहार दिएका थिए ।

एलिशाले उक्त मोबाइलमा सिम हालेर चलाउँदा अनुसन्धानबाट प्रहरीले पक्राउ गरेको थियो । एलिशाबाटै सबै हत्या आरोपी समात्न प्रहरी सफल भएको थियो । माघ ४ गते हेटौंडा–५ को क्याम्पाडाँडामा मृत फेला परेकी भुजेलको हत्या यौन सम्पर्कपछि रकम विवादका कारण भएको खुलेको प्रहरीले जनाएको थियो ।

अजितालाई हेटौंडा–११ थानाभ¥याङस्थित ट्रकमा आरोपीहरुले यौनसम्पर्क गरी पैसामा विवाद भएपछि तारले घाँटी च्यापेर हत्या गरिएको प्रहरीसँग बयान दिएका थिए । अजिताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलोपटक लैंगिक पहिचानका आधारमा नागरिकता लिनुभएको थियो । उनले समलिंगी विवाह गर्नुभएको थियो ।

अजितासँग यौनसम्पर्क गरेपछि ७ हजार रुपियाँ नदिँदा विवाद भएको र हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । माघ २० गते प्राविधिक अनुसन्धानका आधारबाट हेटौंडा–११ बस्ने पाख्रिनसँग मृतक भुजेलको ओप्पो मोबाइल बरामद भयो । उनलाई सोध्दा आशीष बलले दिएको भन्ने बताइयो ।

आशिष बललाई खोजतलासपछि पक्राउ गरी सोधपुछ गर्दा उक्त मोबाइल हेटौंडा–४, कर्रा बस्ने बुद्ध लामाले दिएको भन्ने बताइयो । सो पश्चात् तत्काल बुद्ध लामालाई चितवनबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा उनले मोबाइल कर्रा बस्ने वर्ष २४ का भापु भनिने ना६ख ६५२७ नम्बर आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको भन्ने बताए । तत्काल भापु (परियार) लाई पक्राउ गरियो । घटनाका मुख्य भनिने परियारमाथि अनुसन्धान गर्दा भुजेलको हत्या गरेको खुलेको हो । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.