२० फागुन, काठमाडौं । रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो । हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

चीर ठड्याइदा हनुमानढोका गुरुजूको पल्टनले हर्ष बढाँई समेत गरेको थियो । वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराइका जिल्लाहरुमा फागुन २७ गते मनाइदै छ ।

आपसी मैत्री एवं सद्ध्भावपूर्वक खेलिने यो पर्वमा रंगीबिरंगी रंग दलेर खुसीयाली मनाउँदै एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ ।

मंगलबार ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पु¥याई दाह गरेपछि होली समाप्त हुन्छ भने त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात हुन्छ ।

