बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी झुम्का कारागार चलान

बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी झुम्का कारागार चलान

२० फागुन, विराटनगर । एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।

उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाइ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकै दिनदेखि फरार भएका भनिएका उनी मङ्गलवार सुनसरी जिल्ला अदालतमा हाजिर भएका थिए ।

जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालका अनुसार पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश कार्यान्वयनका लागि गिरीलाई थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो । आफ्नै एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोपमा गत मंसिर दोस्रो साता पक्राउ परेका ४६ वर्षीय गिरी जिल्ला अदालत सुनसरीको आदेशमा गत पुस १४ गते तीन लाख रुपैयाँको धरौटीमा रिहा भएका थिए।

जिल्ला अदालत सुनसरीको आदेशमा रीत नपुगेको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दिएको थियो।
उक्त निवेदन परेलगत्तै गिरी पनि सादा तारेखमा रहेर मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पुगेका थिए।

ती दुवै निवेदनमाथि सुनवाइ गर्दै उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै गिरीलाइ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उच्च अदालतमा उक्त मुद्दाको सुनुवाइ भइरहेका बेला गिरी भने आफ्ना अङ्गरक्षकलाई सिमानामै छोडेर भारतको जोगबनीतर्फ लागेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.