२१ फागुन, विराटनगर । विराटनगर महानगरपालिका–१९ मिलन चोकमा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । स्थानीयवासीहरुले टिप्पर चालकलाई कडा कारबाही गर्न माग गरेका छन् ।
त्यस्तै पीडित परिवारलाई क्षतिपूर्ति र विराटचोक–घिनाघाट सडकमा टिप्पर आवागमनमा रोक लगाउनुपर्ने माग स्थानीयहरुले राखेका छन् ।
विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारीसाधन स्थानीयले चल्न दिएका छैनन् ।
घटनापछि आक्रोशित स्थानीयले दुई वटा टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनापछि उत्पन्न समस्या समाधानका लागि अहिले छलफल भइरहेको छ ।
टिप्परले ठक्कर दिँदा मोरङ ग्रामथान गाउँपालिकाका अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी सबिता सरदारको ज्यान गएको हो । प्रहरीले टिप्परसहित टिप्पर चालक सुनसरी रामधुनी–५ का ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।