२२ फागुन, काठमाडौं । भारतीय महिला क्रिकेट टिम सेमिफाइनल खेल्दै नखेली आईसीसी टी–२० विश्वकपको फाइनलमा पुग्न सफल भएको छ ।
भारतीय महिला क्रिकेट टिम पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । बिहीबार टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इङ्ग्ल्याण्डसँग खेल्नुपर्ने थियो तर भारी वर्षाका कारण खेल हुन पाएन ।
सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखिएको थिएन, जसका कारण भारतीय टिम सिधै फाइनल पुगेको हो । भारतीय महिला टिम ८ अङ्कका साथ आफ्नो समूहको शीर्ष स्थानमा थियो, इङ्ग्ल्याण्डको महिला टिम भने ६ अङ्कको साथ दोस्रो नम्बरमा थियो ।
समूह ए मा रहेको भारतीय टिम सबै खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो । महिला टी–२० विश्वकपको फाइनल खेल आइतबार हुने तय भएको छ । आयोजकहरुले यस वर्षको फाइनलमा कीर्तिमानी सङ्ख्यामा दर्शक उपस्थित हुने बताएका छन् ।
फाइनलमा भारतीय महिला टिमले दक्षिण अफ्रिका र अस्ट्रेलिया महिला टिमबीचको विजेतासँग खेल्नेछ ।