२२ फागुन, काठमाडौँ ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन् ।
ओलीलाई आजबाट तरल र नरम आहार दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । खड्काले ओलीका सबै भाइटल र ल्याब सूचकहरु पनि सामान्य अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्रीलाई मृगौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि स्थिर रहेको बताइएको छ । उनलाई पनि आजबाट तरल र नरम आहार दिन सुरु गरिएको उनले बताए ।
भारत, पाकिस्तान, जापान लगायत देशका प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए । थापाले नेपालका लागि चिनियाँ, जापानी र पाकिस्तानी राजदूतहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको उनले बताए । जापान र पाकिस्तानका राजदूतले अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् । भने चिनियाँ राजदूतले टेलिफोन मार्फत स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
प्रधानमन्त्रीको ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।